* रमिता *.  - 'अच्युत'

‘रामकुमारी झाँक्रीजीमा समर्पित’

रमिता

(रामकुमारी झाँक्रीजीमा समर्पित)

सुन रामकुमारी दिदी,
हामी गीत गाउँछौँ
तिमीले पनि गाएकी थियौ,
हामी नाच्छौँ
तिमीले पनि नाचेकी थियौ,
हामी त टिकटक बनाउँछौँ
तिमीले टेप लगाएर नाटकै खेलेकी थियौ!

अब सोध्न मन लाग्छ
हामीले देखाएको “रमिता” रमाइलो हो?
तिमीले देखाएको “रमिता” भने क्रान्ति हो?

हे दिदी, सम्झ त
२०६० सालको त्यो सडक, त्यो ढुंगा, त्यो रेलिङ,
राज्यका तगाराहरू तोडेर
तिमीले चिच्याएकी थियौ, “यो आन्दोलन हो!” भनेर ।
शासकले भनेका थिए “रमिता देखाउने केटी!” भनेर।

आज तिमी शासक हौ:
र हामी…?
हामी फेरि “रमिता देखाउने शिक्षक” ?

हाम्रो माग: शिक्षा ऐन
तपाईंको: संविधान
त्यो पनि ३ वर्षमा हात्ताहात्ती कानून भन्ने थियो ।
तर बिते दश वर्ष, ….
ऐन अझै गर्भमै रह्यो!
यसको जिम्मा कसको?

तिमी नै सांसद थियौ
तिमी नै मन्त्री थियौ
कहिल्यै शिक्षा ऐनको पाना खोल्यौ त?

हो, हामी रमिते हौं
१९ दिनदेखि रमिता देखाइरहेका छौँ
गीतमार्फत, नृत्यमार्फत, जादुमार्फत, टिकटकमार्फत!

तर बुझ !
हाम्रो रमिता, आत्मगौरव हो
हाम्रो रमिता, आक्रोश हो
हाम्रो रमिता, अन्तिम विकल्प हो
हाम्रो रमिता, अस्तित्वको चिच्याहट हो!

र तिम्रो…..?
तिम्रो रमिता — मन्त्रीको कुर्सीमा रोएको पल हो…
तिम्रो रमिता: मुखमा टेप लगाएर मञ्च चढेको क्षण हो…
तिम्रो रमिता: शक्ति लिँदा क्रान्ति, गुमाउँदा अभिनय गरेको समय हो….!

हामी शिक्षक;
हामी २०३६ सालदेखि आन्दोलनरत
तिमी २०५० सालदेखि “नेतृत्वरत”

तर आज ;
नेतृत्व सत्तामा गयो,
आन्दोलन रमितामा झर्‍यो?

रामकुमारी दिदी !
हामीलाई गाली नगर, हेला नगर
किनभने,
तिमीले भनेको “रमिता”,
हामीले जिउँदै भोगेको संघर्ष हो।

त्यसैले…
रमिता होइन,
यो बाँच्ने लडाइँ हो!
आम जागरूक शिक्षकको चीत्कार हो ।

—- Achyut Neupane

Leave a Reply

Back To Top