आज होलि भोलि होलि, पर्सि चुनावमा

होलि संगै चुनावी बोली छ,
आज होलि भोलि होलि,
पर्सि चुनावमा भोट मलाई
भोटको मिठो बोली छ ।

रङ्ग छरिन्छ गल्ली गल्ली,
नारा गुन्जिन्छ टोलै टोलि,
हिजोसम्म चुप बस्नेहरू
आज भन्छन् म नै जनताका साथी।

रातो अबिर, हरियो आशा,
निलो सपना, पहेलो भाषा,
पाँच वर्ष नदेखिने अनुहारले
आज देखायो माया कति खासा ?

ढोल बज्छ, मादल घन्किन्छ,
हात जोड्दै नेता घुम्छन् बाटोमा,
होलिको रङ्ग जस्तै बाचा पनि
पानीले धोएझै क्षणमै बदलिन सक्छ ।

आज भन्छन् “ तपाई नै देशको शक्ति हौ”,
भोलि भन्छन् “हामी नै हाम्रो भाग्य हौ”,
परिणाम आएपछि फेरि
जनता नै समस्याको कारण हुन सक्छ ।

रङ्गले अनुहार चिन्नै गाह्रो छ,
बोलिले सत्य छुट्याउन झन् साह्रो छ,
होलि त एक दिनमै सकिन्छ,
तर गलत भोटले पाँच बर्से तगारो छ ।

होलि खेलौ हाँसेर रमाएर,
तर भोट दिऊँ सोचेर बुझेर,
रङ्गले मात्र देश रंगिन्न,
सही निर्णयले भविष्य सजाएर ।

आज होलि भोलि होलि,
रङ्गमा नबहकियोस् भोली,
पर्सि चुनावमा सम्झनु है
देश बदल्ने जिम्मा तपाई हाम्रै हो नि है ।
-रोशन अधिकारी

Back To Top