खियामा राइको म लफ्याङ्को सडक हुँ कबिता

म बोल्दैछु
दिक्तेलको छेउबाट साकेलातिर जाने बाटो,
तपाईंको भाषणको बिरुवा होइन,
जनताको पसिनाले सिंचित पीडाको फुलबारी हुँ म।

बर्षौं भयो
सुन्दै आएको छु
“अब यो सडक कालोपत्रे हुन्छ,”
“बजेट पास भइसकेको छ,”
“प्रक्रियामा छ”
तर मेरो छातीमा आज पनि खाल्डा छन्,
हिलाम्य घाउ छन्,
र जनताको विश्वास च्यातिएको जस्तो छ।

बर्खामा म बग्छु, हिउँदमा म उड्छु
तर तिमी, नेताज्यू,
चुनाव आए मात्रै आउँछौ,
त्यसपछिका वर्षहरूमा त म तिमीलाई सम्झिन पनि सक्दिन।

तिमी गफ दिन्छौ
“गाउँ विकास गर्छु,”
“यातायात सहज बनाउँछु,”
“साकेलाको मेला पुग्ने बाटो फराकिलो बनाउँछु।”
तर हेर
यहाँका आमा-बुबा अझै रोगले छट्पटाउँदा बोक्न गाह्रो हुन्छ,
विद्यालय जाने बच्चा घाम ताप्दै, धुलो पिउँदै जान बाध्य छन्।

सडक म हुँ
तर म केवल माटो र ढुङ्गाको संरचना होइन,
म जनताको सहनशीलताको प्रतीक हुँ।
र आज
मेरो सहनशक्ति सकिएको छ।

मेयर साब , अब काफी भयो।
तिमीले बाचा मात्र गरेऊ,
जनताले बाटो माग्दा तिमीले योजना देखायौ
तर न योजना आयो, न त बाटो बन्यो।

अब जनता चुप बस्दैन,
अब म पनि चुप लाग्दिन।
म ती सबै पाइला सम्झन्छु,
जसले मेरो काँध चिर्‍यो,
तर परिवर्तन देखेन।

यदि तिमी फेरि भाषण लिएर मात्र आउँछौ भने
साकेलाको यो बाटो तिमीलाई ओल्टाइदिनेछ,
जुन पाइलामा तिमीले मत माग्यौ,
त्यसै पाइलाले तिमीलाई ठेलेर फाल्नेछ।

अब मलाई सजाउनु पर्दैन
मलाई त सिर्जनाको सम्मान चाहिएको छ।
साकेलाको नाच हेर्न हजारौं पाइला हिँड्छन्,
तर ती पाइलालाई सजिलो बनाउने कसैको आँट छैन।

अब यी पाइला बोलेका छन्।
अब म बोलेको छु।
अब जनता जागेका छन्।
र तिमी, नेता चुप लाग्न बाध्य हुनेछौ।

खियामा
मनिशा राइ

Back To Top