मेरी प्रिय

,
सायद शब्दहरू थाक्लान तर
तिमीप्रतिको माया प्रेम थाक्दैन ।
माया तराजुमा जोखिने वस्तु होइन तर
जति बाँड्यो, त्यति बढ्ने,
जति झिक्यो, त्यति भरिने
वास्तविक सत्य भयको चिज रहेछ ।

मेरो जीवनको
हरेक अध्यायमा तिमी छौ,
हरेक पंक्तिमा तिम्रो नाम छ ।
बिहानीको पहिलो किरणदेखि
मध्यरातको मीठो निद्रासम्म
मेरो सपनामा सधैँ तिमी नै तिमी हौ ।

अभाव, गरिबी र संघर्षले
कङ्कड बनेको मेरो जीवनपथमा
तिमी एकमात्र निःस्वार्थ साथी ।
मेरो आड , मेरो अडेस
थकित मन बिसाउने
मेरो चौतारी तिमी ।

तिमी मेरो उज्यालो हौ,
मेरो सपना, मेरो आशा हौ,
मेरो भरोसा र विश्वास हौ।
आँखा हौ, आँखाको नानी हौ,
धड्कन हौ, ढुकढुकी हौ।
मलाई ‘म’ बन्न सिकाउने
मेरो अन्तःप्रेरणा हौ।

तिम्रो प्रेममा
म हराएको छैन,
बरु हराएको ‘आफू’ भेटाइरहेछु।
तिमी मेरो आसाको शक्ति होइन,
तिमी मेरो आत्मीयता हौ ।
तिमी मेरो मोह होइन,
तिमी मेरो चेतनाको प्राप्ति हौ ।

तिमी मेरो हातको अञ्जुलि हौ,
दिने लिने मेरो भाग तिमी हौ ।
तिमी मेरो चुली हौ,
चुली जीवन बुझ्ने उचाइ हो ।
तिमी मेरो त्यही उचाइ हौ ।

तिमी बिना
वसन्त पनि फिक्का लाग्छ,
फूलको सुगन्ध पनि अपुरो लाग्छ ।
आकाश, घाम, जुन, तारा
सबै तिमीअगाडि
सानो फिक्क लाग्छ ।

हाम्रो प्रेम कुनै सम्बन्ध होइन,
यो दुई आत्माको मिलन हो ।
मुटुमा सधैँ मीठो धुन बजिरहने
अनवरत सङ्गीत हो ।

आज तिम्रो जन्मदिन
जीवनकै सबैभन्दा
पवित्र उत्सव ।
यो नयाँ वर्षले
तिमीलाई अझ बलियो बनाओस्,
हरेक चुनौती पार गर्ने
साहस देओस्,
र सफलताको शिखरतर्फ
अझ उज्यालो यात्रामा अघि बढाओस्।

तिमी छौ र त म छु ।
तिमी छौ र त मेरो अस्तित्व छ।
मेरो सर्वस्व तिमी नै हौ ।

मेरी प्यारी लक्ष्मी तिमीलाई
जन्मदिनको लाखौँ लाख शुभकामना
‘उहि तिम्रो रोशन ‘

Back To Top