कठाङ्ग्रिने तुसारोमा मकै भुट्ने घान हुन्छ,
अगेनाको तातो खरानी, गाउँको मुहान हुन्छ।
कुइयाले ढाक्यो पाखा, लुगलुग काप्छन् बूढापाका,
सिरेटोसँग जुध्नलाई, परालकै तैयान हुन्छ।
बासी गुन्द्रुक, कोदोको ढिँडो, ओइलाएका सागहरू,
चिसो छिर्ने सप्कोभित्र, आत्मीयताको ज्यान हुन्छ।
ए सानी! नजाऊ धारा, हात खुट्टा फुट्लान् नि,
यो चिसोमा ढुङ्गाको पनि, खै किन अडान हुन्छ?
सहरका हिटरभन्दा, घुरको राप नै प्यारो छ,
जहाँ मान्छेको मनभित्र, एउटा छुट्टै विश्राम हुन्छ।
संसारलाई चिहाउँछन् ‘अच्युत’ सुक्ष्म नजरले,
जाडोभित्रै कतै कतै, न्यानोपनको निसान हुन्छ।
- अच्युत न्यौपाने