मैले नदेखेको तिम्रो कर्तव्यको काध
अहिले आफै देख्दै छु ।
तिम्रा फुलेको केश संग
मेरो प्रगतिको कण मिसिएको छ ।
आज अहो पत्तै नपाइ
मलाइ खुट्टा टेकाउने बहानामा
तिम्रो चाउरिएको गालाको
आयतन निकाल्न मन छ
तिम्रो पसिनाले मेरो छाना भरेको छ
मेरै प्रगतिको निम्ति तिमीले गोरु
हलो र कोदालिसंग लुकामारी गरेको अझै
ताजै छ
ठुलदाइको रिण तिर्न नसक्दा
झिसमिसैमै सोलुको बाटो तय गरेको
अझै आलै छ
तिम्रो मुस्कानसंग मेरो खुशिको रहर साटेको छौ
मैले हेर्न नपाउदै नपाउदै कसरी पाखुराको दम घट्यो
तिम्रो खुट्टाको चालमा मेरो भबिस्यको सिमारेखा गासिएको छ
तिम्रो मुटुको धड्कन संग
मेरो प्रगतिको चालले मितेरी गासेको छ
तिमी अक्षर संग अपरिचित हुँदा पनि
मेरो खुट्टाको चालमा तिम्रो स्वास छ
तिमिले भनेको उक्ति अहिले आखाको
रेटिनामा घुमिरहन्छ
तिमी मेरो चमक देख्न खोज्दा खोज्दै
तिम्रो चमक गुमाएको पत्तै पाएनौ
मलाई अझै हेर्न मन तिम्रो जवान
मलाई अझै महसुस गर्न मन
तिम्रो काधको आभास अनि
अझै मलाई बाल्यकाल
फर्कन मन अनि
फेरि तिमै काखमा रमाउन मन छ बा!
०००
शुवास कालिकाेटे
खाेटाङ