नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘नमिठो जाँडैको धेरै निगार’ बोलको ठट्यौली शैलीको गीत सार्वजनिक गरिएको छ ।
पुराना उखान–टुक्का जोडेर तयार गरिएको यस गीतलाई बुद्धि कुलुङले लेखेका हुन् भने संगीतकार डि जे मेवाहाङले संगीत भरेका छन् । गीतमा मेरो भोइस युनिभर्स सिजन १ का फाइनलिस्ट परेश राई र सिजन २ की फाइनलिस्ट जुनु प्रसाईंको स्वर सुन्न सकिन्छ ।
‘नमिठो जाँडैको धेरै निगार, नक्कली केटिको धेरै शृङ्गार’ जस्ता व्यङ्ग्यात्मक पंक्तिले सजिएको यो गीतले दर्शक–श्रोतालाई मनोरञ्जन दिने मात्र होइन, पुराना उखान–टुक्कालाई पुनर्जीवित गर्ने प्रयास पनि रहेको संगीतकार डि जे मेवाहाङ राइले बताए ।

भिडियोमा आशिष लिम्बू र अप्शु वाजी लिम्बूको जोडिलाई देख्न सकिन्छ । भिडियोको निर्देशन पनि संगीतकार डि जे मेवाहाङ स्वयंले गरेका हुन् । तारा कुलुङको निर्माणमा तयार भएको यस गीतमा संगीत संयोजन तथा ध्वनी मिश्रण सागर संसार राईले गरेका छन् ।

त्यस्तै, छायांकनमा गंगाराम राई, सम्पादनमा अमृत चापागाईं, नृत्य निर्देशनमा केशवराज भट्ट, शृङ्गारमा रितु कटुवाल रहेका छन् । गीतको रेकर्डिङ माहोल रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
‘नमिठो जाँडैको धेरै निगार’ बोलको गीत तारा कुलुङ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ !