रोशन आधिकारी
तिम्रा शब्दहरूमा शान्तिको सुगन्ध आउछ ,
मनको बगैचाले फुल झै तिम्लाइ बोलाउछ ,
जुनबेला तिमी सङ्ग मेरो बात हुन्छ
म भित्र कतै उज्यालोको झिल्को फैलाउछ ।
तिमी जे छौ त्यही भएर प्रिय लाग्छौ,
न बनावट न अभिनय साँचो स्पर्श हौ तिमी।
कोही रोकिन्छ तिमीभित्रको गहिराइमा
किनकि तिमी मौन भएर पनि धेरै भन्न सक्छौ ।
यो मुटु… अचम्मको अस्तित्व हो,
सबैलाई देख्छ, तर तिमीलाई मात्रै अनुभूति गर्छ।
हरेक धड्कनमा तिमीलाई खोजिरहन्छ,
किनकि तिमी याद होइनौ साँचेको सपना हौ।
माया त्यो हो, जसले सँगै बस्ने चाहना बोक्छ,
शब्दभन्दा पर स्पर्शभन्दा अग्लो आत्मामा बस्ने।
प्रेमको संसार स्पर्शभन्दा शुद्ध हुन्छ,
जाहा मर्यादा भित्रै भावनाले गीत गाएको हुन्छ।
जहाँ मौनता पनि मिठास मा बाच्छ ,
र आँखाले आँखासँग कुरा गर्छ त्यही प्रेम हो।
तिमी जहाँ छौ, शान्ति त्यही बसोबास गर्छ,
त्यसैले म सधैं तिमीभित्रको उज्यालो खोजिरहन्छु ।