अस्तित्व खडा गर्न – खियामा राइ

एकान्तसँग एकालाप गर्दै,
मनमौजि आफ्नै धुनमा
बेपरवाह म,
बेसुर गित गुनगुनाउँदै हिड्छु!
दुनियाँले मलाई पागल देख्छ,
म दुनियाँलाई पागल देख्छु,
र यहीँ पागलपनमा केही भन्छु,
लाग्छ मलाई
म कविता नभनौ केही भाव लेख्न सिक्दैछु।

आलो काचोघाउमा म अझ घाउ लगाएर
हृदयबाट रातो तरल बगाई
कालो मेरो जिन्दगी जस्तै
सेतो कागजमा म रातो दाग लगाउँछु
बालापनमा, बिद्यालयको सेतो ड्रेसमा
मैले नजानेरै लगाएको रातो दाग जस्तो
त्यसबखत पछाडि बस्नेको हासो हुन्थ्यो
केही बथान उरन्ठेउला ठिटाहरू
अहिले पनि हास्छन्
रगतको दाग लगाएकोमा
र अहिले नजानि लेखिएको भावमा
त्यस समय त्यो हाँसोलाई म मोन सहिदिन्थे
र यश मौन समय म प्रतिकार गर्छु,
चर्को बोल्दिन
ज्ञानी छु,
छोरी मान्छे लजालु हुनुपर्छ
चर्को बोल्न हुन्न चर्को हास्न हुन्न
सकेसम्म सहनशील हुनुपर्छ धर्ती जस्तै
तर असह्य भएपछि धर्ती फाटेर
राता लाभायुक्त ज्वालामुखी निस्किदोरहेछ,
रातो रगत जस्तै,
मैले रोजेको रातो मसि जस्तै

रजस्वलामा जानेर रगत चुहिएर वस्त्रमा लाग्दैन,
र जानेर विद्रोह गर्छु भनेर केही कविता लेखिदैन,
यी प्रकृति हुन्न,
नजानेरै हुन्छन्
म नजानेरै बग्छु नजानेरै कविताकाे भाव लेख्छु,

साधुको भेषमा रहेर अपराध गरिरहन्छन,
आफ्नाको परिक्षामा अग्निपरीक्षा जलाइरहन्छन्
असह्य भएपछि धर्ती फाट्छ
हृदय चिरिन्छ
अनि नजानि नै लेखिन्छ एकथान कविताहरू
नबो लिकनै गुन्जिन्छ मोन चित्कारहरू।

म सिक्दै छु नबोलिकनै बोल्न,
न चिच्याइ सुनिन,
नहाँसिकनै हाँस्न,
आँसु नबगाइ नै रून,
तरबार नचलाई युद्ध लड्न,
र पर्दा पछाडि लुकेरै आफ्नो अस्तित्व खडा गर्न

One thought on “अस्तित्व खडा गर्न – खियामा राइ

Leave a Reply

Back To Top