समय,समाज र संवेदनाको सजिव दस्ताबेज-घुम्ती बिक्रिमा छ।

समकालीन नेपाली कविताको भीडभाडबीच कवि ऋजन मायालुको नवीन कविताकृति “घुम्ती बिक्रिमा छ” एउटा रैथाने स्वादसहितकाे, आत्मीय र अत्यन्त जीवन्त कविताहरूकाे नयाँ संग्रहकाे रूपमा बजारमा आएकाे छ। कविले “चुचुरो अनि स्वास्नी मान्छेहरू” हुँदै “उज्यालाेका मालिहरू”मा पनि मिसिएर अझ परिस्कृत भएर घुम्ती बिक्रिमा छ सम्म आईपुग्दा आफ्ना व्यक्तिगत मानवीय भोगाइ, सामाजिक,राजनैतिक व्यवस्था,प्रकृति र पर्यावरणका मुद्दाहरूमाथिकाे विचार र आफ्नै काव्ययात्रालाई यस संग्रहले अझ परिपक्व रूपले प्रतिबिम्बित गरेकाे छ। “घुम्ती “बिक्रिमा राखिएको घोषणा कविको भावनात्मक अपिल , पीडा र आत्मस्वीकृतिको अनौठो मिश्रण हो।

पेज टर्नरले प्रकाशन गरेको यस कृतिको बजार मूल्य रु ३७५ रहेको छ भने “भेट”देखि “छुटियौँ”सम्म ६४ वटा कविताहरू समेटिएका छन् ।ऋजन मायालुको कविताशैली सरल, धारिलो र अत्यन्त आत्मीय छ।जटिल शब्दहरूकाे जाेडजाड र लम्बाई चाैडाईभन्दा सरल भाषाकाे सटिक र छाेटा प्रहारनै पनि शक्तिशाली र पाठकिय हुन्छ भन्ने कुरा प्रमाणित भएकाे देखिन्छ । जुन कुराकाे संकेत संग्रहकाे सुरूवात कविता “भेट” बाटै हुन्छ।
(पेज-११)
“भेट”

तीता मिठा सम्झनाका
पाईतालाका डाेबहरूमात्र बाँकि रह्याे,
जिन्दगीलाई पछाडि फर्केर हेर्दा
तिमी पनि पागल थियाै
म पनि पागल थिएँ
जिन्दगीको यात्रामा हामी कहाँ भेटियाैँ??
थाहै भएन।
०००

बिम्बहरूमा पहाडी जनजीवन, गाउँको बाटो, धुलो, कुहिरो, चिया–बगान, मानवीय स्पर्श र मौनताका धुनहरूलाई टपक्कै टिपेर,कविमय मनले मनैबाट खिपेर सपाट र सरल भाषामा उतार्दै लेखिएका कविताहरूले पाठकहरूलाई अर्गानिक स्वाद चखाउँछन्। कविले सरल तरिकाले आफ्नाे माैलिक भाषामा मुद्दा पनि बाेक्छन् ,सत्ता र शक्तिमाथि झापट पनि ठाेक्छन् र निरन्तर खबरदारीकाे जिम्मेवारी पनि लिन्छन्।यसैकाे एउटा उदाहरण कविता -” मजदुर” हाे।
(पेज-५९)

मजदुर

भाेक तिर्खा र डर मिसाएर
बनाईसकेपछि बारूद
शासक कुटिल मुस्कुरायाे
म त नाथे मजदुर न हुँ

तैपनि मतिरै नाल तेर्साएर राखिएकाे थियाे
एक थान बन्दुक।

यस्तै अरू कविताहरू विद्राेह,राजनिती -,राजनिती -२,राजाकाे सम्बाेधन,परिवर्तन लगायत का शिर्षकमा पनि विद्राेह र सामाजिक राजनितीक विषयमाथि गम्भीर प्रश्न र आत्मविश्लेण गरिएकाे छ।कविले यथार्थका कुरूप दागहरूलाई साैन्दर्यकाे बाहनामा लुकाउँदैनन्।भ्रष्ट साेच, मानवीयता थिचिने अवस्था, र सपनाहरूमाथि गरिने खेलवाडलाई उनले बडाे प्रतिरोधी चेत र साहित्यिक सौन्दर्यबाट उतारेका छन्।।

कविताहरूमा स्वादिलाे गरि वर्तमान उतारिएकाे छ,प्रकृति र पर्यावरणप्रति संवेदनशिलता छ। माटाे र बाटाेकाे खुब प्रेम झल्किन्छ।विकास र विज्ञानकाे नाममा बढिरहेकाे बिनास र अनिश्चितत भविष्यप्रतिकाे चिन्ता र चासाे पनि छ।यसै सन्दर्भमा उदाहरणस्वरूप कविता -” विज्ञानसंग प्रश्न” काे अन्तिम भाग-
(पेज नं-१६)

“यहाँ अझ धेरै सिद्धान्तको खाँचाे छ।
-“बाेटबाट खसेकाे स्याउ “देखेर
-न्युटन्स ल प्रतिपादन भयाे
विज्ञान महाेदय !
अब आमाबाबुकाे आँखाबाट कति आँशु खसेपछि
“फादर्स एण्ड मदर्स ल” प्रतिपादन हुन्छ?
०००

लैंगिक समानता,महिला मुक्ति र सहभावका कविताहरू पनि यहाँ कविले उल्लेख्य रूपमा समेट्नुभएकाे देखिन्छ। माैलिकता सहितकाे मादकता छर्दै शब्दहरूकाे मायावी बुनाेट र गहिराे शन्देश बाेकिरहेका यस्ता कविताहरू यस कृतिकाे महत्त्वपूर्ण र मुख्य विशेषता हाे।

उदाहरणकाे लागि कविता-“पाेक्चि दिदीकाे कथा”( एक अंश)
(पेज ४४)
……
कस्ले लेख्छ?
उनिजस्ताे भुँईमान्छेकाे व्यथा
चियावारीमा बगेकाे रजस्वलाकाे रगतकाे कथा।
पाेक्चि दिदीकाे रगतले सिंचित भएर हाेला
चियाबारीमा टिपिएकाे दुईपाते सुइरा
जब पानीमा भक भक उम्लिन्छन्
तब रगतजस्ताे देखिन्छ।
……

यसरी सामाजिक यथार्थलाई कवितामा लेख्दै लेख्दै कतै विद्राेह बाेल्दै,कतै प्रश्न गर्दै,कतै उत्तर दिँदै कवि घरिघरि प्रेमिल पनि भैजानु हुन्छ। प्रेम र जीवनलाइ नजिकबाट जाेडेर हेर्दै प्रेमिल कविताहरू पनि लाेभलाग्दाे सरलतासहित लेख्नुभएकाे छ।यसैकाे प्रमाणस्वरूप कविता -“प्रेम” काे एक अंश-
(पेज नं -९९)
……
अकस्मात्
एकदिन साँच्चिकै
आकाश र धर्तिसंग प्रेम बस्नु
मान्छेजस्ताे अधिर हुनु

धर्ति आकाशलाई
एक अर्कासंग कहिल्यै नछुट्टिनेगरी सिलाईदिनु।
….
के हुन्छ?
०००

क्रमैसंग कविले कविताहरूमार्फत देशप्रेम र स्वाभिमान बाेल्नुभएकाे छ। देशकाे वर्तमानप्रति थाेरै आशावादी धेरै असन्तुष्ट र आक्राेसित देखिनुहुन्छ।युवाहरूकाे मनाेदशा र परिस्थिति बाेकेर आफ्नाे मातुभुमीप्रतिकाे मायामा पग्लिएर पनि कविताहरू लेख्नुभएकाे छ।यसैकाे उदाहरण हाे कविता- “”एउटा देशकाे सम्बाेधन बाँच्नेहरूकाे नाममा” (अन्तिम अंश)
(पेज नं-२६)
……
म फगत माटाे हुँ
नपत्याए छाेएर सुँघ्नु
याे माटाेमा मात्र
तिम्राे पुर्खाकाे गन्ध बसाउने छ।
०००

ऋजन मायालुले देशभित्रैकाे विभेद र असमानताकाे पहाडहरूमाथि पनि कविता मार्फतनै प्रहार गर्नुभएकाे छ। विभिन्न बाहाना र शैली तथा तरिकाबाट हुने वर्गित विभेद,जातिय असमानता र साँस्कृतिक सामाजिक अतिक्रमणकाे बिरूद्दमा पनि आवाज बुलन्द गर्नुभएकाे छ। यसमध्येपनि आदिम ईतिहास र आदिवासी अस्तित्वकाे पक्षमा बुलन्द रूपमा प्रस्तुत हुनुभएकाे छ।उदाहरण-” चिम्सेहरूकाे देश “(अन्तिम हरफ)
(१०९)

….
अक्करले खाली राखेकाे
माटाेमा गाडिएकाे पुर्खा
त्यही नागिमा हानेकाे हाे जरा,
-उमारेकाे हाे पात
-बढाएकाे हाे डाँठ
-फूलाएकाे हाे फूल
-फलाएकाे हाे फल
-बचाएकाे हाे बीउ
चिम्सेहरूकाे देश,आफ्नै जराले उभिएकाे छ।
०००

कतै सामाजिक यथार्थ कतै राजनितीक चिन्तन र कतै प्रेमिल सन्दर्भमा कविताहरूलाई सजाईरहँदा त्यही मेसाेमा कविताले व्यक्तिगत जीवनका भाेगाईहरू पनि बाेलेकाे छ । सामाजिक चिन्तन र व्यावहारका उपजहरूकाे पनि उजागर गरेकाे छ। आफ्ना बुबा र आमाकाे जीवनसंग नजिक रहेर समग्र सुदुर बस्तिका बुबाआमाकाे कथालाई पनि कवितामा उनिएकाे छ।चिठ्ठि छाेराकाे नाममा,आप्पा,पुछारघरे आमा,चमेली,आशिर्वाद लगायतकाे कविताले भावुक बनाउँछ।

कविता लम्बाई चाैडाई र आकारमा हैन ,भाव र शैलीले छाेटाेमै पनि मिठाे र चाेटिलाे हुनसक्छ भन्ने कविताकाे उदाहरण पनि यसै संग्रह र कवि ऋजन मायालु हुन् भन्ने प्रमाणित गर्न सहयाेग गर्ने एउटा कविता -“सहिद -१”
(पेज-३७)

म प्रतिमा हुँ
म सानसंग उभिएकाे छु
हाे….. मसानसंग उभिएकाे छु।
०००

यसरी कतै विद्राेही कतै भावुक कतै कल्पनाशिल बनाउने कविताहरूकाे माला उनेर तयार गरिएकाे कविता संग्रह हाे घुम्ती बिक्रिमा छ। प्राय कविताहरू छोटा छन् तर भावनात्मक गहिराइ नाप्ने हाे भने डुबिने किसिमकाे छ।मायालुकाे कवितामा कृत्रिमताकाे लेपन हैन, अनुभवको र भाेगाईकाे स्वभाविक छाँया भेटिन्छ। समाजिक विकृति विसंगतिसंगकाे विमतीहरू भेटिन्छन्।

यति हुँदाहुँदै पनि केही कविताहरू भने अलि हतारमा लेखिए कि? अझ त्यसकाे संरचनागत पक्षमा र भावहरूकाे स्पष्टतामा काम गर्न सक्नुहुन्थ्याे।जस्ताे अनुभुत हुन्छन्। केही कविताहरूलाई एउटै विषय र प्रसंग अनि झण्डै झण्डै उस्तै हुँदा पनि शिर्षक पनि एउटै राखेर १ र २ राखिएकाे छ। उदाहरणकाे लागि -“धाेका -१” र “धाेका -२” । यसले केही नयाँ प्रयाेग गर्न खाेजिएकाे त देखिन्छ तर कविताकाे मर्म र भाव एउटै झल्काईरहेकाे हुनाले पढ्दा फरकपन महसुस नभएझैँ लाग्नसक्छ।भावको पुनरावृत्तिहरूलाई र केही बैचारिक द्वन्दात्मक भावहरूलाई अझ मनन गरेर लेख्दा अझ परिष्कृत हुन सक्थ्यो। तर यती कुराले माईखाेलाजस्तै सरल,स्वच्छ र सलल बगेकाे यस कृतिको प्रभावकारितामा खासै ठूलो खोट लाउँदैन।

संग्रहमा कविता अत्यधिक लामो छैनन्,हरेक कविताले स्वतन्त्र अभिव्यक्ति को ठाउँ सुरक्षित राख्छ।माैलिक ढाँचा, शैलीकाे निरन्तरता र भावात्मक प्रवाहले संग्रहलाई एक नयाँ आयम दिएकाे छ।घुम्तीमा उभिएको मानिस,घुम्तीमा हराएको सपना,
र घुम्तीतिरै बरालिँदै गरेकाे एउटा कविमनले सहज भाषामा समकालीन समयकाे स्पष्ट चित्रसहितकाे पठनिय कविता संग्रह बजारमा ल्याउनु आफैँमा सुखद कुरा हाे।

कवि ऋजन मायालुको“घुम्ती बिक्रिमा छ”समकालीन नेपाली कविता जगतकाे प्रामाणिक एक दस्ताबेजकाे रूपमा उभिनसक्ने कृति भएकाले पाठकलाई लाेभ्याउन सक्छ।
यो कृति सिर्फ कविताहरूको संकलन मात्रै होइन,समय, समाज, प्रेम र पीडाको घुम्तीमा राखिएको मानविय संवेदनाकाे दस्ताबेज हाे,गम्भीर साहित्यिक स्वाद लिन मन पराउने कविताका पाठकका लागि यो पुस्तक गतिलाे खुराक हो।
०००

पाठक- शुभचन्द्र राई,(खाेटाङ)
email-raisuvachandra@gmail.com
पुस्तक – घुम्ती बिक्रिमा छ
लेखक-ऋजन मायालु
प्रकाशक – पेज टर्नर
प्रकाशन मिति-२०८२

Back To Top