हिजोआज उखु काटिन थालेका छन, डोजर कुद्न थालेका छन ।
बुढापाकाका खुट्टा ढोगिन थालेका छन ।
कतै जमिन जोतिन थालेका छन, शहर सफा हुन थालेका छन ।
हिजोआज अचानक अनेकौ नया नयाँ, राम्रा राम्रा दृश्य देखिन थालेका छन ।
आम नागरिकलाई कसैले सूचना दिनु पर्दैन सुचना घर घर पुग्दै छन । किनकि चुनाव नजिकिँदै छ।
हाम्रो देशमा चुनाव केवल लोकतान्त्रिक अभ्यास मात्र रहेन,
यो त एक प्रकारको मौसमी चमत्कार जस्तै बन्न पुगेको छ ।
पाँच वर्षसम्म सुतिरहेको विकास
एकैचोटि अनिद्राको रोग लागेझैँ जाग्छ ।
डाटाअनुसार नेपालमा पछिल्ला ३० वर्षको अवधिमा
स्थानीय, प्रदेश र संघीय तहका गरी
१० भन्दा बढी ठूला चुनाव सम्पन्न भइसकेका छन ।

चुनाव नजिकिदै जादा
हरेक पटक उस्तै दृश्य दोहोरिन्छ ।
चुनावअघिका करिब ६ महिनामा
सडक मर्मत र पूर्वाधार बजेट अस्वाभाविक रूपमा बढ्छ ।
उद्घाटन, शिलान्यास र पुनःशिलान्यासको संख्या ह्वात्तै बढ्छ ।
तर चुनाव सकिएपछि
३०- ४० प्रतिशत योजना अलपत्र पर्ने तथ्य
सरकारी प्रतिवेदनहरूले नै स्वीकार गरेका छन ।
यही कारणले होला चुनावको बेलामा देश
सिंगापुर र स्वीट्जरल्यान्ड जस्तो
तर मतगणना सकिनासाथ
फेरि उही खाल्डाखुल्डी,
उही धुलो,
उही बेरोजगारी,
उही खिचातानी,
अनि फेरि उही आश्वासन फर्किन्छ ।
हिजोआज चुनावअघि नेताहरूको हातमा
मानौ सुपर ग्लु लगाइदिएको हुन्छ ।
हात झर्दैन, नमस्ते रोकिदैन ।
बुढाबुढी, बालबालिका,
कुकुर बिरालोसम्म चिन्ने,
सबैको दुःख बुझ्ने
अद्भुत क्षमता
नेताहरूमा चुनावी मौसमले जागाइदिएको देखिन्छ ।
तर चुनावपछि
त्यो सुपर ग्लु कतै हराउँछ ।
हात फेरि गोजीतिर फर्किन्छ,
र जनतासँगको दूरी
फेरि पाँच वर्ष लामो बन्छ ।
म देख्दै छु
फागुन २१ जस्तो खडेरीमा पनि
विकासको मूल फुट्न थालेको
पानी नभएको ठाउँमा पाइप बिछ्याइँदै छ,
बत्ती नभएको ठाउँमा उद्घाटनको झिलिमिली हुँदै छ ।
तर त्यो विकास
स्थायी छैन ।
किनकि त्यो विकास
जनताको आँखामा छारो मात्र हो
जुन मत बग्ने बेलासम्म मात्र देखिन्छ ।
यही दृश्य हरेक पटक दोहोरिएपछि
नागरिकले गम्भीर प्रश्न गर्न थालेका छन
“चुनाव त वर्षैपिच्छे गर्नुपर्ने हो कि क्या हो?”
किनकि
चुनावमा सडक बन्छ,
चुनावमा शहर सफा हुन्छ,
चुनावमा नेता देखिन्छ,
चुनावमा देश विकसित देखिन्छ ।
यदि विकास देखिनका लागि
चुनाव नै कुर्नुपर्ने हो भने,
समस्या लोकतन्त्रमा होइन,
राजनीतिक जवाफदेहितामा छ ।
चुनाव लोकतन्त्रको आत्मा हो,
तर नेपालमा चुनाव
कहिलेकाही
व्यङ्ग्यको महोत्सव जस्तो लाग्छ ।
जहाँ विकास देखिन्छ,
तर दीगो हुँदैन।
जहाँ नमस्ते धेरै हुन्छ,
तर जिम्मेवारी कम ।
देश सिंगापुर र स्वीट्जरल्यान्ड
चुनावी पोस्टरमा मात्र होइन,
नागरिकको दैनिकीमा देखिने दिन कहिले आउला?
सायद त्यो दिन
चुनावभन्दा
जवाफदेहिता ठूलो हुने दिन हुनेछ ।
हाम्रो भन्दा पनि भोट राम्रो लाइ है जय देश , जय नेपाल