ऋजन मायालुको ‘बन्द खाम’ खोलेर हेर्ने हैनत…

रातो आँखा फुकालेर
अटेरी कुर्कुच्चाले लात हान्दै
गोप्य त्यो बन्द खाम खोल्न नखोज्नू

त्यो बन्द खामभित्र उनको लागि–
प…रदेशको छोराले नखाई साँचेको
दुई गाँस भात हुनसक्छ

बिरामी आमाको औषधि किन्नलाई
भर्खर कुमारीत्व लुटाएकी छोरीको
लाज हुनसक्छ

पचासको दशकमा चोरी भएको
श्रीमान् फर्किआउने
आस हुनसक्छ

हुनसक्छ मरिसकेँ पत्याउनू भनेर
मरेको सिपाही श्रीमानले छोरासँग दाँज्न पठाएका
डिएनए टेष्टहरू

खोल्दै नखोल्नू
खोलिए तिमी आत्तिन सक्छौ
हर्टअट्याक आउन सक्छ तिमीलाई

त्यो बन्द खामभित्र हुनसक्छ –
वर्तमान देशको अवस्थाको नक्सा ।

-ऋजन मायालु

Back To Top