दर्शक

रङ्ग मञ्चको
एउटा कलाकार जस्तो
अझ भनुँ मञ्चमा देखिने दृष्यमा
सचित्र कसैको जीवन
थोरै समयमै उतारे जस्तो ।
दृष्यावलोकन गर्दा यथार्थमा पुगे जस्तो,
त्यो पात्र अाफैमा उत्रिए जस्तो
हो त्यही पात्र
अनि
त्यही कथाबाट चरित्र अभिनेता ठहरिएको म
अझै पटकपटक मञ्चमा उतारिने छु
चरित्र अभिनयले धरातलीय यथार्थ स्पर्श गर्दा
भावनामा ठोक्किएर मुहारमा छाउने छु
उपस्थित सबैका मन एकाकार हुनेछ
पटकपटक तिम्रो उपस्थितिमा
कथा प्रदर्शन हुनेछ
रङ्गमञ्चमा
तिमी मनोरञ्जनका लागि दर्शक हुनेछौं
अनि
म मेरै कथाको पात्र
दुरि मञ्च र दर्शकदिर्घाको
बस् त्यति हुनेछ तिम्रो र मेरो उपस्थिति
तिमीले मात्रै कथा देख्नेछौ
तिमी त्यसको दर्शक हुनेछौं ……

मात्रै तीन घण्टाको सचित्र कहानी
“कमल टाकिज”मा हेर्दै
भावनामा वगेर
पुरै जीवन त्यही कहानी सँग
साटिए जस्तो
घरि अाँखा भरि अाँसु
अनि घरि घरि
मन भरि सपना सजाउन
तल्लीन भएर बसेको
दर्शक भए,
प्रत्येक हप्ता चलचित्रको
फेरबदल सगै
सपना बदलिएको छ
तर पनि
अाँसु त्यही थियो
त्यो किन बदलिएन?
सायद
दु:खका कथामा बग्ने अाँसु
एउटै घडाबाट पोखिदा हुन
अनि
सपनाका कुरा फरकफरक घडाबाट
त्यसैगरि,
समय सपना ठहरियो
जो “टाकिज”का चलचित्र झै
सदा
बदलिरहन्छ, बदलिरहन्छ
अनि म नियमितरुपमा
उहीँ आँसु

चलायमान सपना बोकेर भौतारिने
मात्र दर्शक
“टाकिज”का चलचित्रले देखाएका सपना देख्ने
मात्रै तीन घण्टा भित्र जीवन खोज्ने ।

रबिन कोइराला
काठमाडौं

Back To Top