गौतम बुद्ध सम्झेर -प्रश्नहरूको घेराबाट मुक्तिको मार्ग

रोशन आधिकारी

के हो यो जीवन? किन माया लाग्छ ?
जसमा आनन्द हुन्छ, तर पीडा पनि साथमा आउँछ ।
किन प्रेम जन्मिन्छ ? अनि त्यही प्रेमबाट कहिलेकाहीँ घृणा पनि जाग्छ ?
किन कसैप्रति सम्मान हुन्छ, र कसैप्रति तिरस्कार अनि अपमान ?

गल्ती भनेको के हो ? बिगार किन हुन्छ ?
कुनै वस्तु शुद्ध, स्वच्छ, निरपेक्ष किन हुँदैन ?

किन दिन हुन्छ, अनि फेरि रात आउँछ ?
किन औँसी आउँछ, अनि पूर्णिमा पनि फर्कन्छ ?
किन आशा जन्मिन्छ ?
भरोसाले मान्छे किन बाँधिन्छ ?
किन इच्छाहरू जाग्छन् ?
किन बढ्छन् चाहनाहरू, जसको प्राप्तिले आनन्द दिन्छ,
मनमा केही क्षणको शान्ति ल्याउँछ ?

अरूको बानी मन पर्छ,
अरूजस्तै बन्ने मन लाग्छ।
आफू सानो, आफू असफल भएको भान किन हुन्छ?
किन आफ्नै कमजोरीले मन रुन्छ?

सायद, यिनै र यस्ता प्रश्नहरूको उत्तर खोज्दै,
एउटा व्यक्तिले दरबार छाडे
माया, सम्पत्ति, सारा ऐश्वर्य त्यागे।
र एक बोधिवृक्षमुनि बसे
गहिरो मौनतामा, अन्तिम सत्य पत्ता लगाउन।
उहाँ थिए – गौतम बुद्ध ।

उहाँले भन्नुभयो -“दुःख छ” जीवन यस्तै हो ।
“तर दुःखको कारण छ” त्यो तृष्णा हो ।
त्यही इच्छा, त्यो आशक्ति
जुन हाम्रा सबै प्रश्नहरूको जरा हो।

त्यसैले “दुःख अन्त्य हुन सक्छ”
र त्यो अन्त्यको मार्ग पनि छ “अष्टाङ्गिक मार्ग”।

  • त्यहाँ छ शान्तिको उत्तर न त बाँधिने प्रेमको पीडा,
    न त तिरस्कारको घृणा। न निरपेक्षताको मोह,
    न द्वन्द्वको थकाइ।

बुद्धले देखाउनुभयो –
जीवन क्षणिक छ, तर यसमा मूल्य छ।
हामी ब्रह्माण्डको धुलो हौं, तर चेतनाको ज्योति हामीभित्र बल्छ।
प्रत्येक द्वन्द्व – प्रेम र पीडा, भरोसा र भान,
जीवन र मृत्यु – यी सबै क्षणिक हुन्।

तर तिनलाई बुझेर, छोडेर, निरिक्षण गरेर,
सम्यक मार्गमा लागेर हामी पाउँछौ उत्तर।

जीवन? त्यो प्रश्न होइन अब।
जीवन शुद्ध अवलोकन हो। शान्त स्वीकृति हो।
र अन्तत आफ्नो भित्रको बुद्ध पहिचान गर्नु हो।

‘’बुद्धको मार्ग सधैं हाम्रो जीवनपथ बनोस् ।
सबैमा प्रेम फैलियोस्,
सत्य र शान्तिको उज्यालो फैलियोस् ।’’
बुद्ध जयन्तीको मंगलमय शुभकामना।
Roshan adhikari रोशन आधिकारी

Leave a Reply

Back To Top