अच्युत न्यौपाने (सिकार)
शत्रुता : मौन युद्धको चिसो
राजनीति,
धेरैजसो आँधी होइन,
एउटा सुस्केरा हो,
धेरै बेरदेखि मनको कुनामा थन्क्याइएका
शब्दहीन युद्धहरूको सुस्केरा हो।
शत्रु……?
ऊ सधैं देखिँदैन।
तर शत्रुता…..?
यो त स्याहारिँदै, सिँचिँदै हुर्किन्छ,
राजनीतिक बगैँचामा,
जहाँ फूल होइनन्, काँडाहरू गनिन्छन्।
राजनीति शत्रुलाई हराउँछ,
तर शत्रुतालाई जोगाउँछ।
जसरी एउटा सर्प पालेले
सर्पलाई बोतलमा राखेर
आफ्नै छायामा डसाउने र तर्साउने खेल खेल्छ।
कहिले धर्मको खोल ओढेर,
कहिले राष्ट्रको झन्डा समाएर,
कहिले पहिचानको रङ पोतेर
शत्रुता हिँड्छ चुपचाप,
तिमी मेरो नजिकै हुन्छौ,
तर म तिमीलाई देख्दिनँ।
जब विचारहरू सुस्ताउँछन्,
जब विवेक निदाउँछ
त्यसै बेलामा बज्छ युद्धको ढोल।
अनि त्यो युद्ध…
ट्याङ्कको इन्धनले होइन,
मनभित्र थन्किएको रिसले सल्किन्छ।
भावनाहरू कार्तुस बन्छन्,
र त्यही ..
तपाईंले मनभित्र कहिल्यै नगरेका प्रश्न
त्यही आदर्श, त्यही झन्डा, त्यही नारा,
सबै उनीहरूको गोली बन्छन्
र लाग्छन् कुनै अपरिचितको छातिमा
अर्थात् ‘शत्रु’बनेको तपाईंको छातिमा।
त्यही बेला,
शासक मुस्कुराउँछ ..
कहिले पारदर्शी आँसु बनाएर,
कहिले सुक्खा गर्वको मुहार लगाएर।
सत्ता टिक्नुपर्छ,
त्यसका लागि सत्रुता चाहिन्छ
शत्रु त अगाडि नै सकिन्छ,
तर शत्रुता कहिल्यै बाँझो हुने छैन।
शत्रुता त एउटा बिउ हो
जसलाई
प्रत्येक चुनावपछि रोपिन्छ,
जसले
प्रत्येक भाषणपछि मलजल पाइरहन्छ,
अनि, जब जनताको विवेक थाक्छ,
तब त्यो बिउ बन्छ: युद्धको बोट।
रणमैदान त एउटा उपमा मात्र हो
साँचो युद्ध त
तिमी हामी भित्रै लडिन्छ :
तिम्रो हाम्रो मनभित्र, तिम्रो हाम्रो चिन्तनमा,
र तिम्रो हाम्रो मौनताभित्र।
किनभने
लोकतन्त्रको हत्या सधैं गोलीले हुँदैन,
कहिलेकाहीँ त
एक थान डर,
एक थोपा घृणा,
एकचोटिको सहमतिले नै
गुम्छ लोकतन्त्र !