म नेपाली मेरो चपल मन यो घुम्छ यसरी
हिमाली पाखामा रवि किरणले चुम्छ जसरी
सधैँ नै मोतीको चमक शिरमा झल्मल छरी
छ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥१
पुगेँ मेची काली विविध क्रममा जो चरणमा
लगाएँ श्रध्दाले श्रम कुशलता यै धरणमा
भनी पैसा पैसा हिँडिन म कतै सागर तरी
छ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥२
हिमाली बस्तीका वरपर पुगेँ नौतिर डुली
पहाडी टुप्पोमा सुखसित हिडेँ प्रेम बटुली
तराईका बस्ती रन बन घुमेँ पौरख गरी
छ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥३
हियो मेरै दुख्ने जति पनि दुखे साँध यिनका
सुनी छाती चिर्ने अझ विरहका नाद यिनका
म आभा आमाकै यस मुलुकमा देख्दछु घरी
छ माटोको माया यस हृदयको स्पन्दनभरि॥५
गुणीको ज्ञानीको सबतिर ठुलो खोज छ यहाँ
रुवाबासी साना गरिब जनको रोज छ यहाँ
लुटी खाने भाँडो नगर अब यो देश यसरी
छ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥५
बसेकी छे साह्रै विरह मनले लौन जननी
बलात्कारी आए अतिशय छली झम्टिन भनी
बनी ढुङ्गोजस्तो कति दिन बसौँ चुँक्क नगरी
छ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥६
-रामशरण न्यौपाने, भक्तपुर