पाथीभरामा सात साहित्यिक कृति एकसाथ लोकार्पण

पूर्वी नेपालमा साहित्य कर्ममा सक्रिय सातजना कविहरूका हालै प्रकाशित कृतिहरू पाथीभरा मन्दिर परिसरमा एकसाथ लोकार्पण गरिएको छन । उन्मुक्त साहित्य संगमको आयोजनामा सम्पन्न कार्यक्रममा कविहरूले आफ्ना कृतिबाट कविता वाचन गर्दै साहित्यिक वातावरण सिर्जना गरेका थिए।

कार्यक्रममा इलामका कवि दर्शन सरकार (घिमिरे) को हृदयको उल्टो यात्रा, कविता राई गाउँलेको फाटकमा घाम, हाङयुग अज्ञातको हाङयुग अज्ञातका कविताहरू, दीपेन्द्र आचार्यको व्यापार पृथ्वीको, ऋजन मायालुको घुम्ती बिक्रीमा छ, गणेश निरौलाको कोठेबारी ढुंगा र माटो तथा कृष्ण उदासीको पानीको पर्खाल कृतिहरू लोकार्पण गरिनुका साथै उहाँहरूबाट कविता वाचन गरिएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य प्राज्ञ मुनाराज सेर्माले साहित्य समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सिर्जनाले सामाजिक चेतना विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रमको सभाध्यक्षता उन्मुक्त साहित्य संगमका अध्यक्ष मिलन राईले गर्नुभएको थियो भने सहजीकरण सुनिता तामाङले गर्नुभएको थियो। पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिको समन्वयमा सम्पन्न कार्यक्रममा दुई दर्जनभन्दा बढी साहित्यकार, कवि तथा साहित्यप्रेमी श्रोताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात पाथीभरा मन्दिरका मूल पुजारी यदुनाथ घिमिरेले उन्मुक्त साहित्य संगमको दानपेटिकाको पूजा गरी गर्नुभएको थियो। साथै, रोङ गाउँपालिकाको सहयोगमा उत्पादन गरिएका स्थानीय परिकार-गुन्द्रुक र करेलाको सुकुटी प्रमुख अतिथि तथा अतिथि कविहरूलाई प्रदान गर्दै स्थानीय उत्पादनको प्रवर्द्धनसमेत गरिएको थियो।

धार्मिक आस्थाको केन्द्र पाथीभरा मन्दिर परिसरमा सम्पन्न उक्त साहित्यिक कार्यक्रमले सिर्जना, संस्कृति र स्थानीय पहिचानलाई एकैसाथ जोड्दै साहित्यिक क्षेत्रमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छन ।

Back To Top