एकअर्काको पहिचान हुने छ माया

जति गर्‍यो उति कम हुने छ माया ।
नपिएरै मात लाग्ने रम हुने छ माया ।

नुनखुर्सानी दलेको दिलको घाउमा
शीतलता दिने मलम हुने छ माया ।

दुःखसुख एक रथका दुई पाङ्ग्रा जस्तै,
खुसीसँगै अलि अलि गम हुने छ माया ।

खुला आँखाले सही गलत छुट्टिँदैन,
अन्धोपनको पनि चरम हुने छ माया ।

मेरो कठिनाइ नै मेरो सहजता बनेको छ,
त्यही संघर्षमा झन् महान हुने छ माया ।

संसारले चिने नचिने पनि फरक पर्दैन,
एकअर्का को पहिचान हुने छ माया ।

रोशन अधिकारी

Back To Top