हावामा अक्षरहरूको सुगन्ध छ ।
आज आकाश हलुका पहेलो छ ।
आज कुनै फूल मात्रै फुलेको होइन,
मनभित्रको चेतनाले पनि
नयाँ ऋतु पाउने दिन
सेतो वस्त्रधारी सरस्वती
वीणाको तारमा
हाम्रो मौनतालाई
भाषा सिकाउदै
पुस्तकका पानाहरू
आज डर मान्दैनन
कलम आज थाक्दैन
किन कि आज सरस्वती पुजा हो ।
वसन्तपञ्चमी भनेको
मूर्ति अगाडि धूप बाल्नु मात्रै होइन,
यो त अज्ञानको झ्याल खोलेर
ज्ञानको उज्यालो भित्र्याउने संकल्प हो।
आजबाट
“पढ्छु” भन्ने चाहना
“पढ्नै पर्छ” भन्ने जिम्मेवारी
बहन गर्नु हो ।
जहाँ प्रश्न गर्न डर लाग्छ ।
आज त्यही साहस उमार्ने दिन हो ।
जहाँ गल्ती लुकाइन्छ
आज त्यही सिकाइ जान्माउने दिन
आज सरस्वती
हाम्रो जिब्रोको टुप्पोमा बसेर
सत्य र विवेक फुसफुस्याइरहे को दिन
विद्यालयका आँगनमा
बच्चाहरूको हाँसो
अक्षर सिक्दै हातहरू बाट
भविष्य लेख्दै गरेको दिन
गुरुको स्वरमा
आज पाठ मात्रै हैन
समयको दिशा कोर्न सुरु गरेको दिन
वसन्त जस्तै शिक्षा
बिस्तार बिस्तार आउँछ,
तर आएपछि
पूरै जीवन हरियो बनाउँछ
आज रोपिएको एउटा अक्षर
भोलि विचार बन्छ
पर्सि चरित्र बन्छ ।
हाम्रो ज्ञानकी देवी,
हामीलाई ठूलो होइन,
सचेत बनाइदेऊ।
हामीलाई धेरै होइन,
सही सिकाइदेऊ।
हाम्रो लेखनीमा
अहंकार होइन,
मानवता बसोस्।
आजको वसन्तपञ्चमी
केवल पर्व होइन,
यो त एउटा वाचा हो !
अन्धकारसँग सम्झौता नगर्ने,
अज्ञानसँग हार नमान्ने ।
अक्षरले सुरु भएको यो यात्रा
जीवनभरि निरन्तर काय गर्न सकौ
जय होस् शिक्षा,
जय होस् विवेक,
जय जय सरस्वती माता