प्रतीक्षाको ओसिलो साँझ,
म लेखिरहेछु तिम्रो नाम कुहिरोका पातहरूमा
बिना बर्षा रूझिरहेछ
समय,
उ एक थकित यात्रुझैँ, घरी घाम भएर हाँस्छ त
घरी शितका थोपा जस्तै टिलपिलाउँछ आँखाभरी।
पृथ्वी गोलो छ,
हाम्रा पाइला हराएका छन् त्यही वक्रतामा,
धेरै बसन्तहरू ओझेल परेपछि
कहि कतै
घाम र छायाँको संगमबिन्दुमा
कुनै अज्ञात मोडमा वा
टहटह जुन फुलेको साँझमा
तिमी र म,
अनायास भेट हुन पनि सक्छौं
त्यो बेला
मेरा आखाले प्रश्न गर्न सक्छन
कानले जवाफ खोज्न सक्छन
तर नतोड्नु तिमिले
तिम्रो ओठमा कागज च्यापे जसरी
साँचेको मौनता,
नखोल्नु तिम्रा पैतालाले गन्तव्य
फेर्नुको रहस्य,
म अनुत्तरित भएरै पुर्ण हुन चाहन्छु,
तिम्रो अतीतको घाउ नबिझाउने गरि बरू
दिनु,
हाँगाबाट छुट्टिएर झर्दै गरेको पातझै लाचार
मुस्कान,
म विना हुरी निभ्दै गरेको दियो जस्तो
शान्त भएर निभ्न चाहन्छु यो
समयको चितामा,
पानीमा नून विलाए जसरी
विलिन हुन चाहन्छु
बाध्यताको बक्रतामा,
तिमी अर्कैको बगैचामा फुलिसकेकी
फुल,
बिहानीको गुलाव जस्तै फुलिरहनु
फक्रिरहनु
मगमगाईरहनु
मेरो अतितको बाछिटा नलागोस तिमिलाई
कुनैदिन याद आयो भने महशुस गर्नु
तिमी माथि टिलपिल टिलपिल गरिरहेको शितको
थोपा,
जो चिसो छ,
बे रङ्ग छ
तिमी संगै भएर पनि
एक्लो छ
बे अर्थ छ ।।।
©अज्ञात शायर